पारदर्शी समाजको 'वेबसाईट’ सार्वजनिक
यसै बर्ष स्थापित संस्था 'पारदर्शी समाज’ले राजधानीमा संपन्न एक समारोहमार्फत आफ्नो आधिकारिक 'वेबसाईट’ (www.paradarshisamaj.org) को उद्घाटन गरेको छ। उक्त उद्घाटन समारोहमा बुद्धिजीवी, पत्रकार, लेखक, राजनीतिक व्यक्तित्व, प्रशासनिक व्यक्तित्व, कुटनीतिक व्यक्तित्व, नागरिक समाजका विचारक लगायत समाजका विविध तह र तप्काका बौद्धिक जमातको उपस्थिति थियो।

संस्थाको आधिकारिक वेबसाईटको उद्घाटन पारदर्शी समाजका अध्यक्ष दीपकुमार उपाध्यायले गर्नुभएको थियो। संस्थाको वेबसाईट सार्वजनिक गर्दै अध्यक्ष उपाध्यायले 'सही आचरणको अवलम्बन बिना भ्रष्टाचार नियन्त्रण, प्रभावकारी सुशासन र मुलुकको अवस्था सुधार हुन नसक्ने कुरा बताउनु भयो।' उपाध्यायको विचारमा पारदर्शिताको कुरामा आध्यात्मिक चेत भएन भने परिवर्तन सहज हुन्न। र, कसैले मौखिक रुपमा पारदर्शीताको कुरा गरे पनि त्यसलाई व्यवहारमा उतार्न धेरै मुश्किल हुन्छ।
समाजका अध्यक्ष उपाध्यायले भन्नुभयो, 'अवसर मिल्नासाथ अपवादवाहेक धेरैले बदमासी गर्छन्। किनभने पानी धमिलो भयो भने माछा मार्ने जमातको कमी हुँदैन। तर, वातावरण धमिलो नबनाउन र अवसरको फाइदा नलिन सबैभन्दा पहिले आफ्नै आचरण सही र शुद्ध हुनुपर्छ। त्यसको लागि सबैको सहकार्य आवश्यक छ। मुलुकमा व्याप्त भ्रष्टाचारको विरुद्धमा पारदर्शी समाजले आफ्नो क्षमता र सिमाभित्रबाट सत्प्रयास गर्नेछ। र, त्यसको लागि सामाजिक चिन्तन र चेतनाको आवश्यक हुन्छ। हामी सबै नागरिक एकाकार भयौं भने सापेक्षिक समाधान पनि संभव हुन्छ।’

उक्त उद्घाटन कार्यक्रममा बोल्दै प्रशासनिक क्षेत्रका जानकार द्वारिकानाथ ढुंगेलले सुशासनको दृष्टिकोणले मुलुक राम्रो अवस्थामा नभएको बताउनु भयो। उहाँका अनुसार ट्रान्सपेरेन्सी इन्टरनेशनलको रिपोर्टलाई आधार मान्ने हो भने पनि भ्रष्टाचार नभएको कुनै क्षेत्र भेट्टाउन सकिन्न। अझ अचम्मको कुरा नेपालमा के छ भने 'भ्रष्टाचार हटाउन भनेर गठित भएका दर्शनौं संस्थाहरू कार्यरत छन्, तर मुलुकको अवस्था झन् पछि झन् खराब हुँदैछ’ ढुंगेलले बताउनुभयो।
पूर्व प्रशासक ढुंगेलका अनुसार अहिले नेपालमा राष्ट्रिय सतर्तकता केन्द्र, महालेखा परिक्षकको कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालय, सम्पति शुद्धिकरण विभाग, नेपाल प्रहरीको सिआइबी, विशेष अदालत, सार्वजनिक लेखा समिति, राज्यव्यवस्था तथा सुसासन समितिजस्ता अनेकौं निकायले भ्रष्टाचारको निगमन, निगरानी र अभियोजन गर्छन्। त्यति मात्र होइन, थुप्रै गैर–सरकारी संस्थाहरूले र अनेकौं ऐन र कानुनले पनि नियमन गर्छन्। तर भ्रष्टाचारको इन्डेक्समा नेपाल सधै भ्रष्ट मुलुकको सुचीमा छ। आखिरमा खोइ त लोकतन्त्र? जवाफदेहिता कहाँ छ? खोइ त पारदर्शीता? ढुंगेलको प्रश्न थियो।
उद्घाटन कार्यक्रमको सहजीकरण पारदर्शी समाजका सदस्य मुमाराम खनालले गर्नुभएको थियो। खनालका अनुसार पारदर्शी समाजले भ्रष्टाचार नियन्त्रण, सार्वजनिक निकायमा पारदर्शिता तथा उत्तरदायित्व बढाउन नागरिकस्तरबाट खबरदारी गर्नेछ। 'जेन–जी’ विद्रोहपछि भ्रष्टाचारविरुद्ध उभिएको सामाजिक मनोविज्ञान, असर र परिणामबारे गहन अध्ययन तथा अनुंसधान हुनुपर्ने खनालको भनाई थियो। उहाँले अगाडि थप्नुभयो, 'मुलुकमा नयाँ नयाँ भ्रष्टाचारका काण्डहरू आइरहने र नयाँ आएपछि पुराना काण्डहरू बिर्सिने रोग छ। त्यसकारण पुरानोलाई बिर्सिन नदिन र आवश्यक कार्वाही गर्न पनि नेपालमा भ्रष्टाचारको विस्तृत आर्काइभिङ गर्न जरुरी छ। भ्रष्टाचारलाई केवल पत्रकारिताको स्कुप र राजनीतिक दलले लगाउने प्रतिपक्षमाथिको आरोप प्रत्यारोपजस्तो नभई विषयवस्तुको गहिराइसम्म पुगेर विश्लेषण गर्न जरुरी छ।’

नेपालमा भ्रष्टाचार भन्नेबित्तिकै राजनीतिक र प्रशासनिक तहको भ्रष्टाचारलाई मात्र बढी बुझिने चलन छ। तर नेपालमा सामाजिक तहमा नै भ्रष्टाचार मौलाएकोले यसको जरामा पुगेर मात्र निराकरण संभव छ। यसै उदेश्यलाई केन्द्रमा राखेर मुलुकमा सुशासन, पारदर्शिता र जवाफदेहिताको प्रबर्धन गर्ने उदेश्यले पारदर्शी समाजको स्थापना गरिएको हो।