पारदर्शी समाज नेपालको हार्दिक अपिल
हालै सुनसरीको देवानगन्ज गाउँपालिका अन्तर्गतपर्ने कप्तानगन्जबाट सुरु भएर कोशी तथा मधेश प्रदेशका कतिपय क्षेत्रमा देखिएको असामान्य परिस्थितीप्रति पारदर्शी समाजको गंभीर ध्यानाकर्षण भएको छ। हाम्रो मुफुक ऐतिहासिक कालदेखि सामाजिक, धार्मिक तथा जातीय सद्भावसहित विकसित भएको समाज हो। त्यसैले सहिष्णुता, शान्ति र भ्रातृत्व हाम्रो समाजका महत्वपूर्ण विशेषताहरू हुन्। यस्तो गौरवपूर्ण परम्परा, सभ्यता र सद्भावलाई अझ उचाईमा उठाउनु र समाजमा मेलमिलाप र सद्भाव कायम गर्नु संपूर्ण नागरिकको कर्तव्य हो। हालै उत्पन्न भएका असामान्य घटनाहरूले हामीलाई चिन्तित बनाएको छ।
त्यसकारण हाम्रो गौरवपूर्ण इतिहास, परम्परा र सभ्यतालाई जोगाएर समाजमा शान्ति र सुव्यवस्था कायम गर्न सम्पूर्ण नेपाली नागरिक, राजनीतिक दलहरू, सामाजिक संघसंस्थाहरू लगायत संपूर्ण सरकारी निकायहरूलाई समेत सक्रिय रहन र समस्या समाधानको लागि आआफ्नो ठाउँबाट पहल गर्न पारदर्शी समाज हार्दिक अपिल गर्दछ।
यस असहज परिस्थितिलाई सामान्य बनाउनको लागि सरकारले सबैसँग समन्वय गरी यथासिघ्र शान्ति र सुव्यवस्था कायम गरोस्। र, नागरिकको सुरक्षा र शान्तिलाई केन्द्रमा राखेर उनीहरूको असहज दैनिकीलाई सरकारले तुरुन्त संबोधन गरोस। साथै घटनाको सत्यतथ्य छानबिन होस् र दोषीमाथि कडा कारवाही होस्। घटनामा ज्यान गुमाउने नागरिकप्रति भावपूर्ण श्रद्दाञ्जली प्रकट गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको समुचित उपचारको समेत माग गर्दछौं।
दीपकुमार उपाध्याय
(अध्यक्ष)
पारदर्शी समाज
मिति २०८३/०४/१५