• Location : Kathmandu
image

अनियमितता, ‘जेन–जी’ आन्दोलन र आगजनी

सामाजिक संजालमाथि सरकार लगाएको प्रतिबन्ध, राजनीतिक भ्रष्टाचार र राज्यको निकृष्ट सेवा प्रवाहको विरुद्धमा भएको जेनजी आन्दोलनमा सार्वजनिक संपत्ति मात्र होइन, विभिन्न व्यवशायिक घराना र उनीहरूको निजी संपत्ति पनि आन्दोलनकारीहरूको निशानामा पर्यो। यो घटनालाई केवल जेनजी आन्दोलनको नाममा भएको घुसपेठ भनेर उम्किनु दीर्घकालीन हिसाबले स्वस्थकर हुने छैन।

हो, नितान्त घटनाको दिन र क्षति भएको संपत्तिलाई मात्र एकल दृष्टिकोणले हेर्ने हो भने घटना अत्यन्त दुखद हो। तर यसको अन्तर्यमा हेर्ने हो ने यस्तो दुखद घटना घट्नुमा संबन्धित पक्षको भूमिका नै थिएन भन्ने होइन। किनकि जस्तोसुकै नकारात्मक वा सकारात्मक घटना घटित हुनको लागि कुनै न कुनै प्रकारको कारण अवश्य नै हुन्छ।

त्यसकारण, आगामी दिनमा त्यस्तो घटना नदोहोरिहोस् भन्नको लागि व्यवशायिक क्षेत्रले पनि राजनीतिक अनियमिततासँग जोडिएर व्यवशायिक अनियमितताको मतियार बन्न छोड्नुपर्छ। यद्यपि, आगजनीजस्तो संसारमैं सबैभन्दा जघन्य अपराध मानिने कर्म जोकसैले गरे पनि त्यसलाई जायज मान्न सकिदैंन। तर त्यसको जघन्य अपराध गर्न स्वतःस्फुर्त भिड कसरी तयार भयो भन्ने बिषयलाई नजरअन्दाज गरियो भने आगामी दिनमा पुनः यस्ता घटनाहरू नदोहोरिएलान् भन्न सकिन्न।

जेनजी आन्दोलनको दोश्रो दिन भएको सार्वजनिक, व्यवशायिक तथा नीजि संपत्तिमाथि भएको आगजनी, तोडफोड र लुटपाटलाई सुक्ष्म ढंगले विश्लेषण गर्ने हो भने त्यसको प्रमुख कारणमा भ्रष्टाचार र आर्थिक अनियमितताको साईनो गाँसिएकै देखिन्छ। यहाँ हामीले व्यवशायिक व्यक्ति तथा घरानाको संपत्ति र भवनमा गरिएको आगजनी र तोडफोडमा मात्र केन्द्रित रहेर बिषयवस्तुलाई विश्लेषण गर्न खोजेको कारणले गर्दा केही उदाहरणहरूलाई हेरौं।

काठमाण्डौंको मुटुमा रहेको होटल हिल्टनमा आगजनी र तोडफोड भयो। उक्त होटलमा आगजनी र तोडफोड हुनुमा एकातिर, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयबीर देउवाको समेत लगानी रहेको भन्नेजस्ता भ्रामक समाचारहरूको प्रभाव रह्यो भने अर्कोतिर, शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवालका छोरा शुलभ अग्रवालको विवादित ब्यापारिक छविको मुख्य प्रभाव रह्यो।

स्मरणरहोस्, ०७६ सालमा मुलुक कोभिड१९ को महामारीमा जुधिरहेको समयमा शुलभ अग्रवालले स्वास्थ्य सामाग्रीमा कालो बजारी गरेको आरोपमा पक्राउ परेका थिए। उनले जम्मा पाँच हजार मात्र पर्ने थर्मल गनलाई पन्ध्र हजारमा बेच्न खोज्दा पक्राउ परेका थिए। त्यति मात्र होइन, उनले कालो बजारीको लागि कुटनीतिक नियोगको सवारी साधनसमेत प्रयोग गरेका थिए। थर्मल गनको कालो बजारी प्रकरणमा केही समय हिरासतमा बसेपछि उनी धरौटीमा रिहा भएका थिए। हाल उनी विवादित व्यवशायी दीपक भट्टसँगको संकास्पद आर्थिक बारोबार तथा सम्पति शुद्धिकरणको मामिलामा पुनः पक्राउ परेका छन्।

विश्वको धनाढ्य सुचीमा रहेका नेपाली अर्बपति विनोद चौधरीको घरमा पनि प्रदर्शनकारीले आगजनी र तोडफोड गरे। रवि भवनस्थित चौधरीको घरमा प्रदर्शनकारीले आगजनी गरेका हुन्। विनोद चौधरी नेपाली काँग्रेसका सांसद पनि हुन्। त्यति मात्र होइन, सीजी कम्पनीको सतुंगलस्थित डिजिटल पार्कमा पनि प्रदर्शनकारीले आगो लगाएर ध्वस्त बनाइदिए। प्रदर्शनकारीले थापाथलीमा रहेको गाडीको शोरुममा आगजनी गर्नुको साथै आधा दर्जनभन्दा बढी गाडीमा तोडफोड र आगजनी गरेका थिए। उनका भाई बसन्त चौधरीको ठमेलको घरमा पनि तोडफोड गरेका थिए। 

चौधरीको निजी निवास र उद्योगमा तोडफोड र आगजनी हुनुमा पनि केही कारणहरूले काम गरेका थिए। बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा विनोद चौधरीको नाम मुछिएको थियो। चौधरीले अनाधिकृत रुपमा हत्याएको बाँसबारी छालाजुत्ता कारखानाको दश रोपनी जग्गामा उनले चाँदबाग स्कूलको स्थापना गरेका थिए। हाल उक्त जग्गा चौधरीले गंगालाल अस्पताललाई फिर्ता गरिसकेका छन्। त्यसबाहेक चौधरीलाई नक्कली भ्याट बिल बनाएर राजश्व ठगी गरेको आरोपसमेत लागेको थियो। तर चौधरीलाई कुनै नक्कली भ्याट बिल बनाएर राजश्व ठगी गरेको आरोपमा कार्वाही गरिएको छैन।

जेनजी आन्दोलनको क्रममा धेरै ठूलो क्षति भाटभटेनी सुपरमार्केटमा पनि पर्यो। भाटभटेनी सुपरमार्केटका करिब चौध वटा व्यवशायिक भवनहरूमा आक्रमण गरियो। काठमाण्डौं उपत्यकास्थित भाटभटेनी, महाराजगन्ज, बौद्ध चुच्चेपाटी, कोटेश्वर, कलंकी लगायातका स्टोरहरूमा आगजनी, तोडफोड र लुटपाट गरियो। भाटभटेनी सुपरमार्केटका संचालक मिनबहादुर गुरुङमाथि पनि कैयौं विवादास्पद आरोपहरू थिए।

वालुवाटारको ललिता निवास जग्गा काण्डमा व्यवशायी मिनबहादुर गुरुङ पनि मुछिएका थिए। उक्त जग्गा प्रकरणमा गुरुङलाई गिरप्तार गरेर बयानसमेत लिइएको थियो। त्यति मात्र होइन, उनी पनि नक्कली भ्याट बिल बनाएर राजश्व छलीको मुद्धामा मुछिएका थिए। भाटभटेनी सुपर स्टोरले ३६ वटा फर्मबाट भ्याट बिल खरिद गरेको दावी आरोपपत्रमा थियो। र, उनका व्यवशायिक भवन, व्यक्तिगत संपत्ति र संस्थाहरूमाथि भएका आक्रमणले आगामी दिनमा उद्योगपति, व्यवशायिक घराना र ब्यापारीहरूले पनि विवादित संपत्ति, व्यक्तित्व र राजनीतिक संलग्नतालाई समेत संवेदनशील बनेर हेर्नुपर्ने आवश्यकता देखिन्छ।

त्यस्तै, व्यवसायी तथा बैंकरसमेत रहेका चन्द्र ढकालको चन्द्रागिरी केवल कार, रिसोर्ट र अन्य व्यवसायिक भवनमा पनि प्रदर्शनकारीहरूले आगजनी, तोडफोड र लुटपाट गरेका थिए। माथिका प्रशंगहरू केही प्रतिनिधिमुलक घटनाका उदाहरण मात्र हुन्। मुलुकको राजनीति बिग्रियो भने सबै क्षेत्र त्यसबाट कति हदसम्म प्रभावित बन्छ भन्ने उदाहरण पनि हुन्। त्यसकारण राजनीतिलाई बिग्रिन नदिन व्यवसायिक घराना पनि थप संवेदनशील बन्न आवश्यक देखिन्छ।

स्मरण रहोस्, ‘जेनजी आन्दोलनको दौरानमा ९७ वटा व्यापारिक तथा नीजि भवन पूर्णरुपमा क्षति भएका थिए। साथै २ सय ९२ वटा व्यापारिक तथा नीजि भवनमा आशिंक क्षति भएको थियो। अर्कोतिर राष्ट्रपति भवन, सिंह दरबार, संसद भवन, नगरपालिका, प्रहरी भवन लगायतका सरकारी भवनहरूको क्षति पनि भयावह रुपमा भयो। यसले नागरिकको आक्रोसलाई सरकारले वेवास्ता गर्नु हुँदैन भन्ने अर्को शिक्षा दिएको छ।

Share the post