अकल्पनीय र विनासकारी बाढीबारे पारदर्शी समाजको वक्तव्य
हिमपहिरो खसेर तिब्बताबाट आएको भोटेकोशी खोलाको विनासकारी बाढीले रसुवा, नुवाकोट, गोरखा र धादिङ्ग जिल्लामा अकल्पनीय जनधनको क्षती पुर्याएको छ। यस्तो अकल्पनीय, आकस्मिक र अप्रत्यासित बाढीको विध्वंसले आज संपूर्ण मुलुकलाई शोकमग्न र स्तब्ध बनाएको छ। अझै पनि तिब्बततर्फको खोलामा निर्मित अस्थायी ताल बनेर थुनिएको पानी फुटेर थप विनासकारी बाढी आउने कुरा विभिन्न विज्ञहरूले बताईरहेका छन्। यस्तो चिन्ताजनक अवस्थामा भोटेकोशी र त्रिशुली नदीका तटीय क्षेत्रहरूमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित रुपले रहनको लागि हामी अनुरोध गर्दछौं। साथै सरकारले आफ्ना सबै निकायहरू परिचालन गरेर यस विपदको घडीमा उद्दार, राहत वितरण, बेपत्ता तथा बिपत्तिमा परेकाहरूको खोजी, मृतकहरूको शव व्यवस्थापन आदिजस्ता आधारभूत कुरामा आफ्नो पूर्ण क्षमता उपयोग गरोस् भन्ने अपिल गर्दछौं।
यस विपदको समयमा सरकारको साथसाथै संपूर्ण राजनीतिक दल, सामाजिक संस्था र नागरिक संघ/संस्थाहरूले पनि विपत्तीमा परेकाहरूको खोजी, उद्धार तथा उपचार कार्यमा हातेमालो गर्दै आआफ्नो नागरिक कर्तव्यको पालना गरौं। र, आआफ्नो गच्छे अनुसार आर्थिक, भौतिक र नैतिक सहयोग गर्न हामी आम समुदायसँग हार्दिक अनुरोध गर्दछौं। साथै सरकारले यथासिघ्र विपदले विच्छेद गराएको संचार, यातायात, आवास, स्वच्छपानी, खाद्यान्न, लत्ताकपडा आदिको वैकल्पिक व्यवस्था गर्न माग गर्दछौं। मुलुकको सामु बज्रेको यस बज्रपातलाई सामना गर्नको लागि हामी सबैसँग शान्ति र सुव्यवस्था कायम गर्न अपिल गर्दछौं। र, सरकारले सहयोगको नाममा हुनसक्ने अराजकतालाई रोकेर तहगत सरकारको समन्वयमा सहयोग र राहत कार्यलाई एक द्वार प्रणालीमार्फत अगाडि बढाओस् भन्ने माग गर्दछौं।
यस अकल्पनीय घटनामा ज्यान गुमाउने नागरिकप्रति भावपूर्ण श्रद्दाञ्जली प्रकट गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको समुचित उपचारको समेत माग गर्दछौं। रैथाने नागरिक, कर्मचारी, सुरक्षाकर्मी, उध्दमी, ब्यापारी, स्वदेशी तथा विदेशी पर्यटकहरू लगायत सबै दिवंगतजनप्रति हामी नतमस्तक, शोकाकुल र भावविह्वल भएका छौं। सबै नेपालीजनलाई यो विपदको सामना गर्न सक्ने शक्ति मिलोस् भन्ने प्रार्थना गर्दछौं।
दीपकुमार उपाध्याय
(अध्यक्ष)
पारदर्शी समाज
मिति २०८३/०६/१२